बाली अवशेषहरू

अन्नबाली काटेर सिहारिसकेपछि खेतबारीमा बाँकि छोडिएका सम्पूर्ण कुराहरू नै बाली अवशेषहरू हुन् ।पहिले पहिले यी अवशेषलाई खेर जाने वस्तुको रूपमा लिइन्थ्यो तर अनुसन्धान अनुसार ती वस्तुहरूको निकै ठूलो महत्व रहेको छ । विरूवालाई चाहिने तत्वका लागि,भू–क्षय नियन्त्रण गर्न,जमिनको पानी सोस्ने क्षमता बढाउन,कार्बन सिक्वेसट्रेसनमा यसको ठूलो भूमिका रहेको हुन्छ ।अन्न अवशेषहरू गाई वस्तुलाई घाँसको रूपमा ,भुइँमा ओछ्याउन ,कागज बनाउनका साथै जैविक ग्याँस उत्पादन गर्न प्रयोग गरिन्छ । अहिले सेलुलोसिक इथ्यानोल उत्पादन गर्न  र सिन्ग्याँस उत्पादन गर्नका लागि यसको ठूलो माग छ । सिन्ग्यास बिजुली उत्पादन गर्न,रसायन उत्पादन गर्न,इथ्यानोल बनाउन,डिजेल र ग्यासोलिन उत्पादन गर्न प्रयोग गरिन्छ । बाली अवशेषहरूलाई अरू प्रयोजनका लागि उपभोग गर्नु भन्दा पनि खेतबारीमा नै छोड्नुपर्ने आवश्यकता देखा परेको छ । १० टन/एकर सुक्खा मलको सट्टा ५ टन/एकर बाली अवषेशकोे प्रयोगको उपयोगिता एकै हुन्छ ।

बाली अवशेषहरू बिरूवालाई चाहिने तत्वका महत्वपूर्ण श्रोत हुन्, जसले माटोको उर्वराशक्ति बढाउन सहयाोग पुर्याउँछ ।भिन्न भिन्न बाली अवशेषमा पाइने तत्वको मात्रा पनि भिन्न नै हुने गर्छ ।पात र भूसमा डाँठमा भन्दा धेरै तत्व हुने पाइएको छ । माटोको  प्राङ्गारिक पदार्थ कायम गर्न वर्षेनी २ देखि ३ टन/एकर को हिसाबले बाली अवशेष माटोमा नै छोड्नुपर्ने देखिएको छ ।